२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रचण्डलाई ठूलो झट्का : सिंगै कमिटी जनार्दन शर्मातिर लाग्यो (विज्ञप्तिसहित)

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको मुसिकोट नगर कमिटीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा अगाडि बढाइएको ‘नाटकीय एकता प्रक्रियामा’ सहभागी नहुने घोषणा गरेको छ। कमिटीले बरु जनार्दन शर्माले सञ्चालन गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सामेल हुने निर्णय गरेको हो।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा नगर कमिटी अध्यक्ष दलबहादुर खड्काले शर्माको अभियानको साथ लिएर विकृति, अनियमितता र भ्रष्टाचारविरुद्ध तीव्र रूपमा आवाज उठाउने बताएका छन्।

नगर कमिटीले प्रचण्डमाथि पार्टीभित्रका काण्डहरूको छानबिन नगर्ने, नेताहरूको सम्पत्ति शुद्धीकरणको विषय थन्क्याउने, सुशासन र आन्तरिक रूपान्तरणजस्ता मुद्दालाई ‘डम्पिङ साइट’ मा फालिदिएको आरोप लगाएको छ।

bigyapti

अध्यक्ष खड्काले भनेका छन्, “वृहत् वाम एकताको नाममा रचिएको नाटक स्वीकार्य छैन।” उनले प्रचण्डले देशलाई असफल बनाउनेतिर योगदान गरेका ‘थोत्रा बसका ड्राइभरहरू’ सँग हातेमालो गरेको आरोपसमेत लगाए।

नगर कमिटीका अनुसार प्रचण्डले “आफू बसेको झुपडीमा आफैँ आगो लगाएर बहुखण्डी घरमा सरेको” जस्तै व्यवहार देखाएका छन्। जनयुद्ध र जनआन्दोलनका मूल्य–मान्यतालाई आत्मसात् गरेर नयाँ विचारसहित नयाँ पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको कमिटीले जनाएको छ।

अध्यक्ष खड्काले सिङ्गो नगर कमिटी प्रचण्डको एकता प्रक्रियामा सहभागी नहुने र कार्यकर्तालाई पनि “एकताको नाटक” मा नजोडिन अपिल गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस