२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

प्रचण्डलाई लाग्यो ठूलो झट्का : वरिष्ठ नेताले नै साथ छाडे, लगाए गम्भीर आरोप

काठमाडौं। तत्कालीन माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य तथा लेखक मनऋषि धितालले पार्टी छोडेको घोषणा गरेका छन्।

विगत तीन दशकदेखि माओवादी आन्दोलनमा सक्रिय धितालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका साधारण सदस्यसम्म नरहने गरी राजीनामा दिएको जनाएका छन्। हालै माओवादीसहितका दलहरु मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा उनी असहमत छन्।

धितालले प्रेस विज्ञप्तिमा प्रचण्डको नेतृत्व शैलीप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै भनेका छन् कि प्रचण्ड सत्ता मोहमा फसेर जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्वबाट स-सानो गुटको नेता र संसदीय सत्ता लिप्साको खेलाडीमा परिणत भएको दुर्भाग्यपूर्ण छ।

उनले पार्टीभित्र जनयुद्धलाई मान्यता नदिने र क्रान्तिकारी युवा नेतृत्वलाई बन्ध्याकरण गर्ने ‘मेन्सेभिक’ विचार समूहको प्रभुत्व रहेको आरोप लगाए। धितालले पार्टीमा परिवारवाद, नातावाद, गुटबन्दी, दलाली र भ्रष्टाचार जस्ता ‘क्यान्सर’ बढेको गम्भीर आरोप लगाएका छन्।

तीन दशकको योगदानपछि धितालले अब नवीन पुस्ता र विचारसहितको नयाँ राजनीतिक अभियानमा सक्रिय हुने घोषणा गरेका छन्। उनी प्रगतिशील राष्ट्रिय अभियानमा आफूलाई समर्पित रहने बताउँछन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस