२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

रास्वपामा ठूलो हलचल : कुलमान र रवि एक ठाउँमा, यस्ता छन् सर्त?

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकता र सहकार्यका लागि निरन्तर संवाद चलेको जनाएको छ।

पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार लामो समयदेखि सहकार्यको प्रयास गरिँदै आए पनि रास्वपाले राख्दै आएका नयाँ–नयाँ सर्तका कारण टुंगोमा पुग्न नसकिएको हो। उनले रातोपाटीसँग कुरा गर्दै रास्वपाको चुनाव चिह्न ‘घण्टी’ लिएरै अघि बढ्न आफूहरू तयार रहेको बताए। पार्टीको नाम मिलाउने, रास्वपाको चिह्न कायम राख्ने र केन्द्रीय समिति समायोजन गर्ने मोडालिटीमा छलफल भइरहेको उनको भनाइ छ।

नेतृत्व संरचनामा उज्यालो नेपालले ‘कार्यकारी भूमिकासहितको वरिष्ठ उपाध्यक्ष’ पद बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पनि राखेको छ।

थापाका अनुसार आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता हुन ढिलाइ हुनुको एक प्रमुख कारण रास्वपासँग भएको अनौपचारिक संवाद नै हो। दर्ता भइसकेपछि पनि संवाद जारी रहेको उनले स्पष्ट पारे।

तर, वार्ता सकारात्मक हुँदै जाँदा पनि रास्वपाको पक्षबाट पटक–पटक नयाँ सर्त आउने गरेको उज्यालो नेपालले आरोप लगाएको छ। थापाले भने, रास्वपाका सर्तले गर्दा सहकार्यको सुनिश्चितता अझै नपुगेको हो।

यसैबीच, उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ, जहाँ संरक्षक कुलमान घिसिङ प्रमुख अतिथि रहनेछन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस