२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

नेपाली राजनीतिमा ठूलो मोड : रास्वपा–विवेकशील साझा एक, ५ बुँदे सहमति सार्वजनिक (पत्रसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच ऐतिहासिक एकता घोषणा भएको छ। काठमाडौंमा आयोजित समारोहमा दुवै दलका शीर्ष नेताहरूले एकीकरणसम्बन्धी कागजातमा हस्ताक्षर गर्दै नयाँ राजनीतिक यात्राको सुरुवात गरेका छन्।

रास्वपातर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरे भने विवेकशील साझाबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्। एकीकरणका लागि पाँच बुँदामा सहमति भएको र त्यसअनुसार ‘विवेकशील अभियान’ तथा स्व. उज्वल थापाको योगदानलाई आधिकारिक रूपमा मान्यता दिइने बताइएको छ।

महाधिवेशनसम्मका लागि ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’ गठन गरिने र विवेकशील साझाबाट आउने नेताहरूलाई आपसी सहमतिमा मनोनयन गरिने उल्लेख छ। सबै तहमा जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने पनि सहमतिमा भनिएको छ।

एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। झण्डा निलो पृष्ठभूमिमा सेतो गोलभित्र निलो घण्टी रहने र चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम रहनेछ। निर्वाचन आयोगमा आवश्यक कानुनी प्रक्रिया शीघ्र पूरा गर्ने तथा दुवै दलका सम्पत्तिको व्यवस्थापन आपसी सहमतिमा गर्ने तय भएको छ।

रास्वपा नेतृत्वमा अन्य वैकल्पिक राजनीतिक शक्ति तथा परिवर्तनकामी समूहहरूलाई पनि एकताबद्ध हुन आव्हान गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस