२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

यूएईले खुला गर्‍यो भिसा : नेपालीहरूले कसरी पाउँछन् लाभ?

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलनपछि कडाइ गरेको भिसा अब आंशिक रूपमा मात्र खुला गरेको छ। भदौ २३ र २४ का आन्दोलनपछि नेपालीहरूका लागि भिजिट र वर्किङ भिसामा कडाइ गरेको यूएईले हाल विशेष क्षेत्रका लागि भिसा जारी गर्न थालेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङका अनुसार सरकार तथा सेमी-गभर्मेन्टसँग जोडिएका कम्पनीहरूको वर्किङ भिसा आंशिक रूपमा जारी भइरहेको छ। पहिले बाँकी रहेका भिसा पनि क्रमशः दिइँदै छन्। तर अन्य क्षेत्रका भिसाबारे अझै स्पष्टता छैन। भिजिट भिसा पनि पूर्ण रूपमा खुला नभई आंशिक रूपमा मात्र जारी भएको छ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार, नेपाल र यूएईबीच निरन्तर छलफल भइरहेकाले भिसा सहज बनाउने प्रयास जारी छ। मंगलबार नेपाली राजदूत तेजबहादुर क्षेत्रीले यूएई परराष्ट्र मन्त्रालयका कन्सुलर विभागका अधिकारीसँग भेट गरी कन्सुलर र श्रमसम्बन्धी चुनौतीबारे छलफल गरेका छन्।

यूएईले भदौ ३० देखि भिसामा कडाइ गरेको थियो। यसले एक महिनाभित्र करिब ९ हजार ७ सय नेपालीलाई प्रभावित पारेको थियो। मोल (श्रम अनुमतिपत्र) पाएका ४ हजारभन्दा बढी श्रमिक भिसा नपाएको अवस्थामा हाल क्रमशः जारी हुँदैछ। व्यवसायीहरूले भिसा रोक्ने निर्णय उचित नभएको र कूटनीतिक पहल प्रभावकारी नभएको आलोचना गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस