प्रकाश काफ्ले / काठमाडौं । काठमाडौंबाट काभ्रे पुगेर रोशी खोलाको स्थलगत निरीक्षण गरेका गृहमन्त्री सुधन गुरुङले अनुगमनपछि अवैध रूपमा सञ्चालन भइरहेका सबै क्रसरहरू बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। वर्षेनी वर्षायाममा बाढी र पहिरोका कारण धनजनको ठूलो क्षति हुने अवस्थालाई ध्यानमा राख्दै उनले यस्तो कदम चालिएको बताएका छन्।

उनका अनुसार खोलाबाट अव्यवस्थित रूपमा गिट्टी-बालुवा उत्खनन गरिँदा बाढी र पहिरोको जोखिम बढेको छ, तर यसलाई रोक्न आवश्यक पहल नहुँदा समस्या जटिल बन्दै गएको छ। अब यस्ता गतिविधि नियन्त्रणमा ल्याउन आफू प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। गुरुङले विगतमा केही राजनीतिक दलहरूले मिलेमतोमा अवैध रूपमा क्रसर सञ्चालन गर्न दिएको आरोप समेत लगाउँदै अब यस्तो अभ्यास अन्त्य गरिने दाबी गरे। साथै, सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा राहत कार्यका लागि सरकार पूर्ण तयारीमा रहेको जानकारी पनि उनले दिए।

कुनै पनि विपद्जन्य घटना घटेमा तत्काल उद्धार गर्न सकिने गरी आवश्यक पूर्वतयारी गरिएको र सम्बन्धित निकायलाई त्यसबारे सचेत गराइएको समेत उनले बताएका छन्।