२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

गोवा नाइट क्लबमा चार नेपालीसहित २५ जनाको मृत्यु: सबैको पहिचान खुल्यो (नामसहित)

काठमाडौं । उत्तरी गोवाको आरपोरा गाउँमा रहेको ‘Birch by Romeo Lane’ नामक एक लोकप्रिय नाइट क्लबमा भएको भयानक आगलागीमा परी २५ जनाले ज्यान गुमाएका छन् भने केही घाइते भएका छन् । शनिबार राति भएको यस दुखद घटनामा क्लबका कर्मचारीका रूपमा कार्यरत चार नेपाली नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ।

आगलागीको मुख्य कारण ‘फायर शो’ वा विद्युतीय पटाकाबाट निस्केको झिल्कोले क्लबको काठको संरचनामा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। अधिकांश पीडितहरू क्लबको बेसमेन्ट (भुइँतला) र भान्सा क्षेत्रमा धुवाँले निसास्सिएर मरेका थिए, जहाँ हावा आवतजावत गर्ने उचित व्यवस्था र सुरक्षित निस्कने ढोका थिएन।

गोवाका अधिकारीहरूले मृत्यु हुनेमध्ये २० जना कर्मचारी र पाँच जना पर्यटक रहेको पुष्टि गरेका छन्।

मृत्यु भएका चार नेपाली नागरिकको पहिचान पूर्णबहादुर पुन (Churna Bahadur Pun), विवेक कटुवाल (Bibek Katuwal), सबिन (Sabin) र सुदीप (Sudeep) को रूपमा भएको छ। यद्यपि, उनीहरू नेपालको कुन ठाउँका बासिन्दा हुन् भन्ने कुरा गोवा प्रहरीले सार्वजनिक गरेको छैन।

प्रारम्भिक अनुसन्धानबाट नाइट क्लब आवश्यक इजाजतपत्र (लाइसेन्स) बिना र पर्याप्त अग्नि सुरक्षा मापदण्डहरू पालना नगरी सञ्चालनमा रहेको पाइएको छ। साँघुरो पहुँच मार्गका कारण दमकलहरू घटनास्थलसम्म पुग्न ढिलाइ भएको थियो। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको कारण पत्ता लगाउन र जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न न्यायिक छानबिन आदेश दिएका छन्।

प्रहरीले क्लबका महाप्रबन्धकसहित चार जना कर्मचारीलाई पक्राउ गरेको छ भने फरार रहेका मालिकद्वय सौरभ लुथरा र गौरव लुथरा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस