प्रकाश काफ्ले/काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’सँग सम्बन्धित इमेल ठेगाना राखेपछि चर्चा सुरु भएको छ। उनले फेसबुकमा balenforpmnepal@gmail.com नामको इमेल समावेश गरेका छन्, जुन उनले प्रधानमन्त्री पद सम्हाल्ने तयारीसँग जोडेर प्रयोग गरेको देखिन्छ।
रास्वपाले हालैको निर्वाचनमा सहज बहुमत प्राप्त गरेपछि शाह नेपालको प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको बताइन्छ। पार्टीभित्र पनि उनलाई संसदीय दलको नेता बनाउने तयारी भइरहेको छ, जसका लागि पार्टी विधान संशोधनको प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।
निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरिसकेको अवस्थामा अब नयाँ सरकार गठनको प्रक्रिया छिट्टै अघि बढ्ने अपेक्षा गरिएको छ। यसबीच रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सम्भावित मन्त्रीहरूको नाम टुंग्याउने तयारीमा व्यस्त रहेको जनाइएको छ।

