२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

काठमाडौंका सबै १० क्षेत्रमा प्रचण्ड नेतृत्वको नेकपा कमजोर, जमानत जोगाउन सकेन

प्रकाश काफ्ले /काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानी काठमाडौंका कुनै पनि निर्वाचन क्षेत्रमा उल्लेखनीय मत ल्याउन सकेन। प्रत्यक्षतर्फका सबै १० निर्वाचन क्षेत्रमा उम्मेदवारले १० प्रतिशतभन्दा कम मत पाएपछि उनीहरूको जमानत जफत भएको छ। निर्वाचन आयोगको विवरणअनुसार काठमाडौंका १० क्षेत्रमा प्रत्यक्षतर्फ कुल ४ लाख ६३ हजार ३ सय ४२ मत सदर भएको छ। त्यसमध्ये नेकपाका उम्मेदवारहरूले जम्मा १८ हजार ३ सय ४३ मत प्राप्त गरेका छन्, जुन करिब ३ दशमलव ८९ प्रतिशत मात्र हो।

निर्वाचनअघि माओवादी केन्द्र, एकीकृत समाजवादीसहित दुई दर्जन जति साना वाम दलहरू एकताबद्ध भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी बनाएका थिए। आफूलाई बलियो वामपन्थी शक्ति भन्दै चुनावी मैदानमा उत्रिए पनि राजधानीमा अपेक्षित परिणाम ल्याउन भने सकेनन्।

निर्वाचन प्रणालीअनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा राखेको धरौटी रकम फिर्ता पाउँदैनन्। यसैलाई सामान्यतः ‘जमानत जफत’ भनिन्छ। काठमाडौंका केही क्षेत्रमा नेकपाका उम्मेदवारले हजार मतसमेत पार गर्न सकेनन्। काठमाडौं–१ मा मेनुका भण्डारीले ३४५ मत मात्र पाउँदै सातौँ स्थानमा सीमित भइन्। काठमाडौं–३ मा निरज लामाले ५१८ मत पाएर छैटौँ स्थानमा रहे। काठमाडौं–४ मा इन्द्रकुमार भुसालले ६५७ मत प्राप्त गर्दै सातौँ स्थानमा रहे भने काठमाडौं–५ मा कल्पना शर्माले ५७४ मत ल्याउँदै सातौँ स्थानमै सीमित भइन्।

काठमाडौं–२ मा नितेश पौडेलले १ हजार ९१२ मत पाएर पाँचौँ स्थान हासिल गरे। काठमाडौं–६ मा हिमाल शर्मा (हेमलाल) ले १ हजार १६४ मत पाएर पाँचौँ स्थानमा रहे। काठमाडौं–७ मा बसन्त मानन्धरले ३ हजार ६ सय ६७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। काठमाडौं–८ मा सुमन सायमीले ३ हजार २ सय १७ मत पाएर दोस्रो स्थानमा रहे, तर विजेता विराजभक्त श्रेष्ठले उनीभन्दा धेरै गुणा बढी मत प्राप्त गरेका थिए।

काठमाडौं–९ मा राधाकृष्ण महर्जनले १ हजार ३ सय २८ मत पाउँदै छैटौँ स्थानमा सीमित भए भने काठमाडौं–१० मा रुपा महर्जनले २ हजार ६ सय ४८ मत ल्याउँदै चौथो स्थानमा रहिन्।

काठमाडौंका १० क्षेत्रमा नेकपाले ३ हजारभन्दा बढी मत ल्याउन सकेको क्षेत्र भने ७ र ८ मात्रै हुन्।

इतिहास हेर्दा भने २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले काठमाडौंका चार क्षेत्र जितेको थियो। काठमाडौं–१० बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं विजयी भएका थिए। त्यसबेला काठमाडौं–२ मा झक्कु सुवेदीले माधवकुमार नेपाललाई पराजित गरेका थिए भने काठमाडौं–६ बाट हितेन्द्रदेव शाक्य र काठमाडौं–७ बाट हिसिला यमी विजयी भएका थिए।

तर त्यसपछि राजधानीमा माओवादी शक्ति क्रमशः कमजोर बन्दै गयो। २०७० को निर्वाचनमा एकीकृत नेकपा माओवादीले काठमाडौंमा कुनै पनि सिट जित्न सकेन। २०७४ मा वाम गठबन्धनका रूपमा चुनाव लड्दा पनि माओवादी केन्द्रले यहाँ सफलता पाउन सकेन।

२०७९ मा नेपाली कांग्रेससँग गठबन्धन गरेर माओवादी केन्द्रले काठमाडौं–९ र काठमाडौं–७ मा उम्मेदवारी दिएको थियो, तर ती दुवै क्षेत्रमा पनि जित हात पार्न सकेन।

यसपटक नेकपाका रूपमा विभिन्न वाम घटकलाई समेट्दै चुनावी मैदानमा उत्रिएको भए पनि राजधानी काठमाडौंमा अपेक्षित समर्थन जुटाउन पार्टी असफल भएको देखिएको छ।

 

 

 

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस