प्रकाश काफ्ले/काठमाडौँ । नासाको ऐतिहासिक आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्रीले करिब १० दिनसम्म चन्द्रमाको परिक्रमा पूरा गरी ओरायन क्याप्सुलमार्फत प्रशान्त महासागरमा सफलतापूर्वक स्प्ल्यासडाउन गर्दै सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्। पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने क्रममा क्याप्सुलले २,७६० डिग्री सेल्सियसभन्दा बढी तापक्रम र करिब ४०,००० देखि ४२,००० किलोमिटर प्रतिघण्टाको तीव्र गति सामना गर्नुपरेको थियो। यद्यपि अत्याधुनिक सुरक्षा प्रणालीका कारण यान सुरक्षित रूपमा अवतरण गर्न सफल भयो।

आधा शताब्दीभन्दा बढी समयपछि मानवलाई चन्द्रमाको नजिक पुर्‍याउने यो पहिलो ऐतिहासिक मिसन हो। यस अभियानमा रिड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी हेन्सन सहभागी थिए, जसले अन्तरिक्ष अन्वेषणमा नयाँ उपलब्धि थपेका छन्।

यो मिसनले सन् १९७० को अपोलो–१३ ले कायम गरेको दूरीको कीर्तिमान तोड्दै पृथ्वीबाट करिब ४ लाख ६ हजार ७७८ किलोमिटर टाढासम्म मानव पुर्‍याएर नयाँ रेकर्ड कायम गरेको छ। साथै, यसले भविष्यका अन्तरिक्ष अभियानहरूका लागि महत्वपूर्ण प्राविधिक परीक्षणहरू सफलतापूर्वक सम्पन्न गरेको छ।

यस सफलताले नासाको दीर्घकालीन आर्टेमिस कार्यक्रमलाई थप मजबुत बनाएको छ, जसअन्तर्गत सन् २०२८ सम्म चन्द्रमाको सतहमा मानव अवतरण गराउने र त्यसपछि मंगल ग्रहसम्म मानव अन्वेषण विस्तार गर्ने लक्ष्य राखिएको छ।