काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको समर्थनमा संघीय संसद्को उपसभामुख बन्न लागेकी श्रम संस्कृति पार्टीकी सांसद रुबी ठाकुरलाई उनकै पार्टी अध्यक्ष हर्क साम्पाङले बधाई नदिने बताएका छन् । पुल बनाउने भन्दै हाल दार्चुला रहेका साम्पाङले सामाजिक सञ्जालमार्फ भने,‘बधाई दिनेछैन म तिमीलाई किनकि असल काम गरेर देखाएपछि मात्रै म बधाइ दिने गर्छु, कार्यकाल भरि पार्टीकी रहनेछैनौं अब, तिमी पूरै देशकी बन्नेछौं आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु, जरालाई बिर्सने वृक्ष सुकेर जानेछ। अल द बेस्ट नानी’
आज उपसभामुख पदको निर्वाचन हुँदैछ । यस पदमा बिहीबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाएको छ । संसद्को सभामुखमा भने रास्वपाबाटै डोलप्रसाद अर्याल यसअघि नै निर्वाचित भइसकेका छन्। संवैधानिक व्यवस्था अनुसार फरक पार्टी र फरक लिंगको उपसभामुख हुनुपर्नेछ ।

