प्रकाश काफ्ले / काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक स्वीकृतिपछि नयाँ भाडादर लागू गर्ने तयारी गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि गरिएको छ। पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।

विभागका अनुसार मन्त्रालयबाट भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ र अब केही समयभित्रै आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गरिनेछ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, सवारी साधनको मर्मत खर्च, चालक–सहचालक पारिश्रमिक लगायतका कारण देखाउँदै व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए।

नयाँ भाडादर लागू भएपछि सर्वसाधारणको दैनिक यात्रा खर्च बढ्ने मात्र नभई ढुवानी महँगो हुँदा उपभोग्य वस्तुको मूल्यमा समेत वृद्धि हुन सक्ने देखिएको छ। यसले बजारमा महँगी थप बढाउने चिन्ता समेत व्यक्त गरिएको छ।