प्रकाश काफ्ले/काठमाडौं । दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा उच्च देखिएको छ। छिमेकी राष्ट्रहरूको तुलनामा नेपालमा पेट्रोलको मूल्य अत्यधिक बढ्दा यसले सर्वसाधारणको भान्सा, यातायात र ढुवानी लागतमा प्रत्यक्ष असर पारेको छ।
हालको बजार दर अनुसार नेपालमा पेट्रोलको मूल्य प्रति लिटर २१९ रुपैयाँ पुगेको छ, जुन दक्षिण एसियाका अन्य ७ मुलुकहरूको तुलनामा निकै बढी हो।
पेट्रोल मूल्य (प्रति लिटर/नेपाली रुपैयाँ)
- नेपाल: २१९ रुपैयाँ
- पाकिस्तान: १९४ रुपैयाँ
- श्रीलंका: १८७ रुपैयाँ
- भुटान: १५७ रुपैयाँ
- भारत: १५७ रुपैयाँ
- माल्दिभ्स: १५३ रुपैयाँ
- अफगानिस्तान: १४० रुपैयाँ
- बंगलादेश: १४० रुपैयाँ
भारत र भुटानभन्दा ६२ रुपैयाँ महँगो
नेपालको खुला सिमाना रहेको भारत र अर्को भूपरिवेष्ठित मुलुक भुटानमा पेट्रोलको मूल्य १५७ रुपैयाँ छ। यी देशको तुलनामा नेपाली उपभोक्ताले प्रति लिटर ६२ रुपैयाँ बढी तिर्नुपर्ने अवस्था छ। आर्थिक संकटबाट गुज्रिरहेका पाकिस्तान र श्रीलंकामा समेत पेट्रोल नेपालको तुलनामा सस्तो देखिएको छ।
बढ्दो मूल्य र सरकारको भूमिका
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने उतारचढावसँगै नेपाल सरकारले लगाउने विभिन्न शीर्षकका कर तथा प्रशासनिक खर्चका कारण मूल्य अझै उच्च रहेको विज्ञहरूको भनाइ छ।
सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा “सरकार कसको पक्षमा काम गर्दैछ?” भन्दै चर्को आलोचना हुन थालेको छ। छिमेकी मुलुकहरूले आफ्ना नागरिकलाई राहत दिन मूल्य समायोजन र कर कटौती गरिरहँदा नेपालमा भने मूल्य उच्च राखिनुले सरकारप्रति प्रश्न उठेको हो।
यस विषयमा सम्बन्धित निकायको मौनताले उपभोक्ताहरू थप मारमा परेको देखिएको छ।

