२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

अमेरिका–इरान तनाव चर्किँदै,अमेरिकाको ४८ घण्टे युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको ४८ घण्टे युद्धविराम योजना इरानले अस्वीकार गरेको खबर तेहरानस्थित अर्ध–सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको छ। उक्त प्रस्ताव बुधबार तेस्रो देशमार्फत इरानसम्म पुर्‍याइएको बताइए पनि तेहरानले त्यसलाई स्वीकार नगरेको जनाइएको छ।

समाचारअनुसार, इरानले औपचारिक लिखित जवाफ नदिई निरन्तर आक्रमणमार्फत आफ्नो असहमति प्रकट गरेको छ। कुवेतको बुबियान टापुमा अवस्थित अमेरिकी सैन्य भण्डारण केन्द्रमाथि इरानले आक्रमण गरेपछि वाशिङ्टनले युद्धविरामका लागि कूटनीतिक पहललाई अझ तीव्र बनाएको उल्लेख गरिएको छ। तर, यस विषयमा अमेरिकाले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसअघि शुक्रबार इरानले दुईवटा अमेरिकी लडाकु विमान खसालिएको दाबी गरेको थियो। तीमध्ये एउटा एफ–१५ ई र अर्को ए–१० रहेको बताइएको छ। एफ–१५ ई इरानभित्रै आक्रमणका क्रममा खसालिएको दाबी गरिएको छ, जसमा एक चालक दलका सदस्यको उद्धार गरिएको भए पनि अर्का सदस्य अझै बेपत्ता रहेको जनाइएको छ।

त्यस्तै, इरानी सञ्चारमाध्यमले ए–१० विमान फारसी खाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ। यद्यपि, अमेरिकी पक्षले उक्त विमान दुर्घटनामा परेको हो वा आक्रमणमा खसालिएको हो भन्ने विषय अझै स्पष्ट नभएको बताएको छ।

करिब पाँच हप्तादेखि जारी द्वन्द्वका बीच अमेरिकी विमान खसालिएको यो पहिलो घटना भएको जनाइएको छ। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी घटनाक्रमले इरानसँग भइरहेको वार्तामा कुनै असर नपर्ने बताएका छन्। एक अन्तर्वार्तामा उनले यो युद्धकै अवस्था भएको उल्लेख गर्दै कूटनीतिक प्रयास भने निरन्तर जारी रहने स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस