इटहरी, सुनसरी । शर्वेश्वर भजन कृतन मण्डली, इटहरी–७ सुनसरीको आयोजनामा जेष्ठ नागरिक, किर्तन समूहका सदस्य तथा पदाधिकारीहरूको सहभागितामा धार्मिक तिर्थ यात्रा कार्यक्रम सम्पन्न भएको छ। मिति २०८३ साल जेठ ९ गते सम्पन्न उक्त यात्रामा ४५ जना सहभागी रहेका थिए भने इटहरी उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य नेत्र प्रसाद गुरागाईं विशेष सहभागितामा रहनुभएको थियो।

कार्यक्रम अन्तर्गत सहभागीहरू बिहान ७ बजे सुमंगल टोल, इटहरीबाट बसमार्फत प्रस्थान गरी धरतीकै पहिलो तिर्थस्थल मानिने बराहक्षेत्र मन्दिर, गुप्त बराह, चतरा धाम लगायतका धार्मिक स्थलहरूको दर्शनका लागि पुगेका थिए। दिनभर विभिन्न धार्मिक गतिविधिमा सहभागी भई टोली साँझ ६ बजे इटहरी फर्किएको आयोजकले जनाएको छ।यात्राका क्रममा सहभागीहरूले कोका कौसी र कोशी नदीको संगममा पवित्र स्नान, विभिन्न मठ–मन्दिरमा पूजा–आराधना, तथा गुप्त बराहमा सञ्चालित एक महिने मलमास कथा श्रवण गरेका थिए। साथै, गुप्त बराहको दर्शनसँगै त्यहाँ निर्माणाधीन गुप्त बराह जाने सिँढी निर्माण कार्यको अवलोकन समेत गरिएको थियो।

उक्त निर्माण कार्यमा शर्वेश्वर भजन कृतन मण्डली, इटहरी–७ सुनसरीको तर्इफ बाट पनि केहि आर्टथिक सहयोग हस्तान्तरण गरिएको थियो साथै जेष्ठ नागरिकहरू त्रिलोचन गुरागाईं, विष्णुमाया गुरागाईं, कुलबहादुर अधिकारी, बाटुला अधिकारी, लालबहादुर कटुवाल तथा आम्बकुमारी कटुवाल ले व्यक्तिगत रुपमा पनि आर्थिक सहयोग गर्नुभएको थियो।

स्थानीय जेष्ठ नागरिकहरूको धार्मिक तथा सामाजिक योगदानको प्रशंसा गर्दै आयोजकले उहाँहरूको सहयोगले धार्मिक पूर्वाधार निर्माणमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गरेको छ।

शर्वेश्वर भजन कृतन मण्डलीका अध्यक्ष महेश गुरागाईंले यस्ता धार्मिक यात्राले जेष्ठ नागरिकहरूमा आध्यात्मिक ऊर्जा, सामाजिक एकता र मानसिक सन्तुलन अभिवृद्धि हुने बताउनुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक गतिविधिहरूले समाजमा सकारात्मक सोच, सहकार्य र सद्भाव बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी वडा सदस्य नेत्र प्रसाद गुरागाईंले जेष्ठ नागरिकहरूको सम्मान, धार्मिक आस्था र सामाजिक सक्रियतालाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले समाजमा जेष्ठ नागरिकहरू अनुभव, प्रेरणा र संस्कारका स्रोत भएकाले उनीहरूको सहभागिता र सम्मानलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। स्थानीय तहले यस्ता सकारात्मक र समाज उपयोगी कार्यक्रमहरूमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
आयोजकका अनुसार उक्त तिर्थ यात्राले सहभागीहरूमा धार्मिक आस्था थप मजबुत बनाउनुका साथै आपसी सम्बन्ध, सद्भाव र सामुदायिक एकतालाई अझ प्रगाढ बनाएको छ।

