काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको थियो । तर एक साता पुग्न लाग्दापनि कुनै सम्पर्क नगरेपछि उनको लोकेशन डिटेक गरेर पक्रिएर ल्याउने विषयमा विभागले अन्तराष्ट्रिय एजेन्सीहरुसँग छलफल अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण विश्वव्यापी अपराध भएकाले पक्रिएर ल्याउन विभागले तयारी थालेको छ ।
विभागले सोमबार बूढानीलकण्ठस्थित देउवाको घरमा पत्र टाँस्दै जयवीरमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उल्लेख गरेको हो। यसअघि विभागले शेरबहादुर देउवा र आरजु राणा देउवामाथि पनि अनुसन्धानका लागि पुर्जी काटिसकेको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्ट ठेक्कामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ। त्यसकै आधारमा बयानका लागि पुर्जी काटिएको स्रोतले जनाएको छ।

