नयाँदिल्ली । इजरायलको प्रमुख रक्षा कम्पनी राफेल एडभान्स डिफेन्स सिस्टम्स भारतमा आयरन डोम इन्टरसेप्टर मिसाइल उत्पादन लाइन स्थापना गर्ने तयारीमा छ। यसका लागि कम्पनीले विभिन्न भारतीय रक्षा कम्पनीहरूसँग छलफल गरिरहेको छ। सम्झौता भएमा पहिलोपटक इजरायल र अमेरिकाबाहेक भारतमा पनि आयरन डोम इन्टरसेप्टर मिसाइल निर्माण हुनेछ। यो पहल भारत सरकारको‘मेक इन इन्डिया र आत्मनिर्भर भारत नीतिसँग मेल खाने मानिएको छ। यसले भारतको रक्षा उत्पादन क्षमता बढाउने मात्र होइन, विश्वव्यापी रक्षा सप्लाई चेनमा पनि भारतलाई महत्वपूर्ण भूमिका दिलाउनेछ।
हाल आयरन डोम इन्टरसेप्टर मिसाइल उत्तरी इजरायलमा उत्पादन हुन्छ भने अमेरिकामा रेथियानसँग साझेदारीमा अर्को उत्पादन लाइन सञ्चालन भइरहेको छ। भारतमा नयाँ उत्पादन लाइन सुरु भएपछि लागत घट्ने, सप्लाई चेन बलियो हुने र विश्वव्यापी माग छिट्टै पूरा गर्न सकिने अपेक्षा गरिएको छ। भारत–इजरायलबीच रक्षा क्षेत्रमा पहिले नै बलियो साझेदारी छ। दुवै देशले मिलेर बराक–८ मिसाइल प्रणाली विकास गरेका छन्, जुन भारतीय सेना, नौसेना र वायुसेनामा तैनात छ।
पश्चिम एशियामा हालैका संघर्षपछि एयर डिफेन्स सिस्टमको माग विश्वभर बढेको छ। यस्तो अवस्थामा भारतमा आयरन डोम इन्टरसेप्टर उत्पादन राफेलका लागि रणनीतिक रूपमा फाइदाजनक हुनेछ। भारतबाट अन्य देशमा निर्यात गर्ने सम्भावना पनि बढ्नेछ। यसैबीच भारतले सुदर्शन चक्र नामक आयरन डोम जस्तै स्वदेशी एयर डिफेन्स शिल्ड विकास गर्ने काम अघि बढाएको छ। राफेलसँगको सम्भावित साझेदारीले भारतलाई नयाँ प्रविधि, उत्पादन क्षमता र निर्यात अवसर प्रदान गर्नेछ। यदि परियोजना अन्तिम रूप लिन्छ भने भारत इजरायली एयर डिफेन्स सिस्टमको मात्र ग्राहक नभई यसको निर्माण र विश्वव्यापी आपूर्तिमा पनि महत्वपूर्ण भागीदार बन्नेछ।

