२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले स्वागत गरेका छन् ।

बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यानडर्सको औपचारिक निमन्त्रणामा यही असोज २१ गते उनी त्यसतर्फ प्रस्थान गरेका थिए । बेलायत भ्रमणका दौरान प्रधान सेनापतिले आफ्ना बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरे । त्यस्तै उनले रोयल कलेज अफ डिफेन्स स्टडिज तथा रोयल मिलिटरी एकेडेमीको भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका कमान्डन्टहरूसँग भेट गरेका थिए । त्यस्तै उनले ब्रिगेड अफ गुर्खाजको हेडक्वार्टर को समेत भ्रमण गरेका थिए ।

यसैगरि बेलायतका लागि नेपाली महामहिम राजदुत ज्ञानचन्द्र आचार्यले प्रधान सेनापतिको सम्मानमा नेपाली राजदूतावासमा आयोजना गरेको रात्रि भोजमा सरिक भए । यसअघि उनले वेल्स, ब्रेकनस्थित सेनीब्रिज ट्रेनिङ एरियामा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल अभ्यासमा सहभागी विभिन्न देशका सैनिक टोलीहरूलाई पुरस्कार वितरण समारोहमा सरिक भई पदक तथा प्रमाणपत्र वितरण गर्नुका साथै उक्त प्रतिस्पर्धात्मक अभ्यासमा सहभागी नेपाली सेनाको टोलीसँग भेटघाट गरेका थिए ।

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस