२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई ‘मेडिकल स्कर्टिङ’ गरी भारत लगियो

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेडाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ।

उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले मेडिकल स्कर्टिङ गरेका थिए।

श्री एयरलाइन्सका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९ः२० बजे मुम्बईको लागि उडेको थियो। आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज निशान्त ढकालले जानकारी दिए।

गम्भीर घाइते सेडाईंलाई ह्याम्स अस्पतालमा शनिबार डा. निशान्त ढकाल, डा. सन्तोष न्यौपाने, डा. राम कृष्ण बुढाथोकी, प्लास्टिक सर्जन डा. कृष्ण मानन्धर, पारामेडिक्सतर्फ सरोज चौधरी र बली जंग शाहीले उपचार गरेका थिए। शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा मिर्गौलमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ।

घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको शरीर र हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस