२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

Dashain Tika is being applied today on the day of Ekadashi

८ कात्तिक, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराई कसैले विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको भन्दै त्यसलाई अन्यथा रुपमा लिन नहुने बताउँछन् । उनले भने, ‘नेपाली समाजको परम्परा आफ्नै विशिष्ठता र विशेषतायुक्त छ । ठाउँअनुसार आफ्नै खालका परम्पराहरु छन् । पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ । पश्चिम नेपालका कैयौं ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिनमात्रै टीका ग्रहण गरौं भन्ने चलन बस्यो । आ–आफ्नै परिवेश अनुसार चलेका चलनलाई अन्यथा लिने कुरा भएन ।’

यसैगरी आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अंकुश लाग्ने धार्मिक विश्वास छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस