२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

भूकम्प पीडितको सहयोगमा जाँदै गर्दा कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

Karnali State Assembly Speaker and Deputy Speaker vehicle accident

काठमाडौं । कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ। उक्त गाडीमा मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ।

बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। मोटरसाइकलमा तीनजना सवार थिए। मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो। मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस