२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए यो व्यवस्थालाई कसैले केही गर्न सक्दैन: गगन थापा

२२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका दलका नेताहरूसँग मंगलबार सिंहदरबारमा छलफल गरेका थिए। उक्त छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका थिए।

महामन्त्री थापाले अहिलेको गणतान्त्रिक व्यवस्था स्थापना गर्न शीर्ष नेताहरूले निभाएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै इतिहासले त्यो भूमिकालाई सधैं सम्झने पनि बताए।

सामाजिक सञ्जाल फेसबुक र एक्समा मंगलबार अपराह्न लेख्दै महामन्त्री थापाले भनेका छन्, ‘तपाईंहरू (शीर्ष नेता) फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनुपर्‍यो। मैले भन्दै आएको छु, फेरि भन्छु- तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिइदिनु भयो भने यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’

उनले शीर्ष नेता एकजुट भएर राजनीतिबाट विश्राम दिइदिने काम गरिदिन पनि थापाको आग्रह छ।

´इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ, सम्मान गर्नेछ। र गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्थाप्रतिको विश्वास अझै मजबुत हुनेछ,’ थापाले भने।

 

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस