काठमाडौं । पछिल्ला केही दिनयता चीनसँगको रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेका छन ।
उनीहरूको साथबाट रु १३ लाख ८८ हजार चार सय बराबरको सुन बरामद गरिएको हो । थप कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा आजै बुझाउने तयारी भइरहेको छ । गत आइतबार पनि रु १४ लाख ९१ हजार छ सय ८२ बराबरको सुनका औँठीसहित तीन जना पक्राउ परेका थिए । उनीहरुलाई पनि भन्सार कार्यालय बुझाई सकिएको प्रहरीले जानकारी दिएको छ ।

