२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

थवाङबाट विप्लवको चेतावनी, राजतन्त्र सहितका प्रतिगमनले चलखेल गरे अर्को जनयुद्ध सुरु

Warning of Biplab from Thawang

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका हुन् ।

महासचिव विप्लवले चुनबाङ् बैठकको मर्म पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूले नबुझेको समेत आरोप लगाए । विप्लवले भने ‘चुनबाङ बैठकपछि काठमाडौ उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो ।’ विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेका उद्घोष गरे ।

जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उद्देश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको विप्लवको तर्क थियो । ‘इमानदार माओवादीहरुले जनता, सहिद र घाइते बिर्सनु हुँदैन भन्ने हाम्रो जोड थियोे तर कतिपयले मन्त्री, सांसद र सम्पत्ति थुपारेपछि जनता भुलेको दाबी गरेका छन्’, उनले भने ।

विप्लवले भने, ‘हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ । कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी म यहीँबाट दिन चाहन्छु, पछिल्लो समय देशमा केही लुटेराहरु सल्बलाएका छन् । यो एकैछिनको नाटक हो । यो षड्यन्त्रको जमेर प्रतिबाद गरिन्छ,‘ जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै छ, षड्यन्त्रका सपना नदेखे हुन्छ ।’ विप्लवले मन्त्री र सांसद पदका लागि मात्रै पार्टी एकता नहुने समेत बताएका छन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस