२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

परराष्ट्र सचिवमा बढुवा सेवा लम्साल को हुन् ?

काठमाडौं । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो।

गत शुक्रबार लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्न एकल सिफारिस गरेको थियो। सन् १९९८ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी सेवा लम्साल जागिरे जीवनको २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको कुर्सीमा पुगेकी हुन्। गत मंसिर १९ गते सचिव भरतराज पौड्यालको समयावधि समाप्त भएसँगै उनले निमित्त सचिवको जिम्मेवारी भने लिइसकेकी थिइन्।

लम्साल परराष्ट्रमा उपसचिवका रूपमा प्रवेश गरेकी थिइन्। पासपोर्ट विभागबाट परराष्ट्रको करिअर सुरू गरेकी उनी सन् २०१६ देखि २०२० सम्म पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरेकी थिइन्। त्यसबेला उनले इरान, टर्की, कीर्गिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानको समेत राजदूतको जिम्मेवारी लिएकी थिइन्।

२०२० मा नेपाल फर्किएपछि भने लम्सालले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संघसंस्थाहरू र अन्तर्राष्ट्रिय कानून विभागमा काम गर्दै आएकी थिइन्। सचिवको जिम्मेवारी सम्हालेसँगै अब लम्सालले परराष्ट्र मन्त्रालय अन्तर्गतका ३५८ जना कर्मचारीको नेतृत्व लिनेछिन्। लम्सालले विभिन्न राष्ट्रहरूका दुई पक्षीय तथा बहुपक्षीय बैठक, विभिन्न सम्मेलन र सम्झौताहरूमा पनि आफ्नो नेतृत्वदायी उपस्थिति जनाइसकेकी छन्।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस