२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

एलन मस्कले नाम बदलेर एक्समा राखे ‘केकियस म्याक्सिमस’, यसको अर्थ के हो ?

Elon Musk

काठमाडाैं । अमेरिकी अर्बपति तथा एक्स (पहिले ट्विटर) का मालिक एलन मस्कले सामाजिक सञ्जालमा फेरि नयाँ प्रयोग गरेका छन्। यसपटक उनले आफ्नो एक्स प्रोफाइलमा नाम परिवर्तन गरेर ‘केकियस म्याक्सिमस’ राखेका छन्। प्रोफाइल तस्वीर पनि परिवर्तन गर्दै उनले आफ्नै फोटोको सट्टा ‘पेप द फ्रग’ मिमको फोटो राखेका छन्। यो तस्वीरमा पेपलाई एक योद्धा जस्तै कपडा लगाएको देख्न सकिन्छ र उसको हातमा गेम खेल्ने ज्वाइस्टिक छ।

यो परिवर्तनसँगै क्रिप्टोकरेन्सी बजारमा पनि चर्चा शुरू भएको छ। यसअघि पनि मस्कले ट्विटरको नाम परिवर्तन गरेर ‘एक्स’ राखेका थिए। मस्क प्रायः आफ्ना अनौठा सामाजिक सञ्जाल पोस्टहरूका कारण चर्चामा रहने गर्छन्।

के हो केकियस म्याक्सिमस ?
‘केकियस म्याक्सिमस’ नामले कुनै वास्तविक पात्रलाई जनाउँदैन। यो ‘पेप द फ्रग’ नामक चर्चित मीमलाई ग्लेडियेटर चलचित्रका रोमन सेनापति ‘म्याक्सिमस’ पात्रसँग जोडेर बनाइएको छ। म्याक्सिमसको भूमिका अभिनेता रसेल क्रोले निभाएका थिए। यो नाम एउटा मिम क्वाइनको नाम पनि हो, जसले हाल क्रिप्टो बजारमा लोकप्रियता कमाएको छ। यस मिम क्वाइनको २४ घण्टाको व्यापारिक भोल्युम २.७ मिलियन डलर पुगेको छ, जसले लगानीकर्ताहरूको यसमा बढ्दो चासो देखाउँछ। २७ डिसेम्बरमा यसको मूल्य उच्चतम बिन्दुमा पुगेको थियो।

मस्कको यो कदमसँगै मिम क्वाइनको बजारमा उल्लेखनीय वृद्धि भएको छ। यद्यपि, मस्कले आफ्नो नाम परिवर्तनको कारण अहिलेसम्म खुलासा गरेका छैनन्। एक्समा नाम परिवर्तनले क्रिप्टो बजारमा उनको भूमिकालाई पनि संकेत गरेको हुन सक्छ।

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस