२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रवि लामिछानेको मुद्दामा आदेश लेखिँदै, अदालतबाहिर रास्वपा कार्यकर्ताको भिड

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य अहिले कास्की जिल्ला अदालतमा जारी छ । थुनछेक बहस सकिएपछि आदेश लेखनको कार्य भइरहेको हो ।

बिहीबार सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए । त्यसक्रममा लामिछानेले आफूलाई बाहिरै रहेर मुद्दाको अनुसन्धान गर्न माग गरेका थिए ।

अहिले कास्की जिल्ला अदालत बाहिर रास्वपाका समर्थकहरू भेला भएका छन् । अदालतको विश्राम कक्षमा रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले समय बिताइरहेका छन् ।

केहीबेरमा आदेश आउने सम्भावना छ । रास्वपाका नेताहरू पनि अदालत परिसरमा देखिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निषेधित क्षेत्रको सुरक्षा कडा बनाएका छन् ।

 

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस