२०८३ जेष्ठ २ गते शनिवार | 2026 May 16th Saturday

किन पक्राउ परिन् आशिका तामाङ ?

Ashika Tamang

 

खसिनी दिदी भनेर चिनिएकी चर्चित अभिनेत्री तथा सामाजिक अभियन्ता आशिका तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको छ। काठमाडौँ जिल्ला प्रहरी कार्यालयका एसएसपी बसन्त रजौरेले उक्त कारबाही पुष्टि गर्दै तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको बताए। उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी चौकीमा लगिएको छ, जहाँ उनको गतिविधि र व्यवहारको विस्तृत छानबिन गरिनेछ।

काठमाडौँ जिल्ला प्रहरी कार्यालयका एसपी नवराज अधिकारीले पनि यस विषयमा जानकारी दिँदै तामाङलाई पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको बताए। यो कारबाहीले अभद्र व्यवहार मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने उद्देश्य राखेको छ।

आशिका तामाङ सामाजिक सञ्जालमा आफ्नो स्पष्ट वक्तव्यका कारण चर्चित व्यक्तित्व हुन्। उनले विभिन्न सामाजिक मुद्दामा आवाज उठाउँदै फेसबुक र युट्युबजस्ता प्लेटफर्महरूमा भिडियोहरू पोस्ट गर्दै आएकी छिन्। पछिल्लो समयमा, पशुपति क्षेत्र विकास कोष परिसरमा उनले एक महिला प्रहरीसँग दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कोषले पुस २६ गते तामाङविरुद्ध गौशाला प्रहरी वृत्तमा जाहेरी दिएको थियो। अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट पुस २८ गते नै अनुमति लिएर उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस