२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

आशिकाका पक्षका खुलिन् सोबिता, आईजीपीलाई अगाडि राखेर यतिसम्म भनिन्

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले खुल्ला रुपमा अभियान्ता आशिका तामाङको पक्षमा बोल्दै सरकारमाथि कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लंघन गरेको आरोप लगाएकी छिन्। उनले मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सरकारले थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको आलोचना गरिन्।

सांसद गौतमले भनिन्, ‘राज्यले अभियोजन गर्न पाउँछ तर थुनेर मात्रै र कानुनअनुसार अनुसन्धानको लागि थुन आवश्यक भए मात्र थुनिनु पर्छ। अहिले सरकार कानुनी हिसाबले थुन्ने र मात्र त्यसपछि अभियोजन गर्ने प्रक्रियामा लागेको छ।’

सांसद गौतमले भनिन्, ‘यसमा म आईजीपी (प्रहरी महानिरीक्षक वसन्त कुँवर) सर हुनुहुन्छ गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु। भोलि अपराध हो वा होइन त पुष्टि हुनै बाँकी छ नि। भोलिको दिनमा न्यायिक निकायले पुष्टि त गर्ने नै हो। आज नै कसुरदार हो भने जसरि थुनेर भोलि उसले गल्ति गरेको रहेनछ भनेदेखि त उसको मानव अधिकार र स्वतन्त्रता हनन भयो नि।’

उनले नागरिकलाई सार्वजनिक प्रश्न उठाउने कारण थुनेर राख्नुलाई मानव अधिकारको गम्भीर उल्लंघन भनेर पनि सम्बोधन गरिन्।

गौतमको प्रश्न छ, ‘मन्त्रीले आईजीपीको जिब्रो थुत्नुपर्छ भनेको विषय अभद्र व्यवहार होइन, अहिले उनलाई सलाम गर्नुपर्छ। अनि आशिका तामाङले गार्डलाई हु आर यु (तिमी को हौ) भनेको विषय अभद्र व्यवहार भयो, यो कानून कसरी बराबर प्रयोग भयो?’

सोमबार, जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको दश हजार धरौटी बुझाएर छुटेकी तामाङ फेरि पक्राउ परेकी छन्।आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा उजुरी परेको छ। उनलाई अनावश्यक दुःख दिएको भन्दै सामाजिक सञ्जालमा पनि चर्को विरोध भइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस