काठमाडौँ । आज बिहान सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी हुँदा खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेको छ। आगलागीबाट मन्त्रालयका केही कागजातहरू पनि जलेको प्रहरीको भनाइ छ।
मन्त्री यादवका अनुसार हिजो नै विद्युतको तार पोलिएको गन्ध आएको थियो। उहाँले विद्युत सर्ट नै आगलागीको कारण हुनसक्ने बताउनुभएको छ।
आगोले कार्यकक्षमा रहेका दुई टेलिभिजन, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सी, कार्पेटलगायत क्षति पुगेको छ। तर अति आवश्यक कागजपत्र भने सुरक्षित रहेको मन्त्री यादवको दाबी छ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि विद्युत सर्टबाट आगलागी भएको हुनसक्ने बताउँदै ठूलो क्षति हुन नपाएको बताएका छन्।
सिंहदरबार सुरक्षा गणका प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेका अनुसार बारुणयन्त्रको सहायताले आगो १५ मिनेटमै नियन्त्रणमा लिइएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

