परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली विद्यार्थीको अवस्था बुझ्न नेपाल प्रहरी पुगिसकेको बताएकी छन्। परराष्ट्र मन्त्री राणाका अनुसार भारतस्थित नेपाली राजदूतावासबाट दुई जना प्रहरी मंगलबार बिहान किटमा पुगिसकेका छन्। ती प्रहरीहरूसँग आफूले कुराकानी गरेको र घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न भनेको परराष्ट्र मन्त्रीको भनाइ छ।
किटमा पढ्ने नेपालकी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएको थियो। यसपछि भएका घटनाक्रमबारे परराष्ट्र मन्त्रालयले निरन्तर रूपमा फलोअप गरिरहेको पनि उनले उल्लेख गरेकी छन्। ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुग्नुभएको छ,’ परराष्ट्र मन्त्री राणाको भनाइ छ।
भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तर रुपमा फलो अप गरिरहेका छौं। मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु।
यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ। सोमबारको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ।
भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा पक्राउ परेका छात्र आड्भिक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ। श्रीवास्तवको साथबाट प्रहरीले मोबाइल पनि बरामद गरेको छ। श्रीवास्तव प्रकृतिको साथी हुन्। श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ।
श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ। साथै प्रहरीले अनुसन्धानका लागि कागजात, मृतक प्रकृतिको पनि मोबाइल र ल्यापटप बरामद गरेको छ। गत आइतबार प्रकृति मृत भेटिएकी थिइन्। साथै कलिंग इन्स्टिच्युटका नेपाली विद्यार्थीमाथि कुटपिटमा संलग्न रहेका दुई जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंस्थित भारतीय दूतावासले भुवनेश्वरस्थित प्रहरी कमिशनरको कार्यालयले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै दुई जनालाई पक्राउ गरेको उल्लेख गरेको छ। ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको हो। किट प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलिंग इन्स्टिच्युटबाट निकाल्दा सुरक्षागार्डहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो।
प्रहरीले कलिंग इन्स्टिच्युटमा पढ्ने नेपालीसहित सबै विद्यार्थीहरूको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ। भारतका लागि नेपाली राजदूत शंकर शर्माले ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तसँग पछिल्ला घटनामा केन्द्रित रहेर कुराकानी गरेका छन्।
भारतस्थित नेपाली राजदूतावासका अनुसार राजदूत शर्माले मंगलबार दिउँसो किटका सञ्चालक सामन्तसँग टेलिफोनमा कुराकानी गरेका हुन्। घटनाबारे सामन्तले घटनाबारे किटद्वारा सार्वजनिक रूपमा माफी मागेको र केही सुरक्षागार्ड तथा कर्मचारीमाथि कारबाही गरिएको जानकारी गराएका थिए।
साथै राजदूत शर्माले किटका प्रतिनिधिहरूसँग पनि भेटेर कुराकानी गरेका छन्। आइतबार साँझ रूपन्देही सिद्धार्थनगर वडा नम्बर ८ कि २० वर्षीया प्रकृति लम्साल कलेजको होस्टलमा मृत भेटिएकी थिइन्। उनी केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।
उनको मृत्यु भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले घटना शंकास्पद रहेको भन्दै छानबिन हुनुपर्ने माग गरेर प्रदर्शन गरेका थिए। उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ। पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी उत्तर प्रदेशका एडविक श्रीवास्तव छन्। उनीमाथि अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

