भारतको केआईआईटी कलेजमा उत्पन्न तनावपछि कम्तीमा १११ नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन्। काँकडभिट्टाबाट १६ र वीरगञ्ज नाकाबाट ९५ विद्यार्थी नेपाल फर्किएको स्थानीय प्रशासनले जनाएको छ।
विद्यार्थी फर्किन थालेपछि कलेजले अभिभावकलाई इमेल लेखेर आउ-जाउ खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरिरहेको छ। दिल्लीस्थित नेपाली दूतावासका कन्सुलरले कलेजका उपकुलपति सरञ्जीत सिंहसँग छलफल गरेका थिए। सिंहले नेपाली विद्यार्थीका अभिभावकलाई सुरक्षाको जानकारी दिन इमेल पठाउने बताए।
आइतबार २० वर्षीया प्रकृति लम्साल मृत भेटिएपछि कलेजमा तनाव बढेको थियो। उनले मानसिक दुर्व्यवहार र ब्ल्याकमेलबारे दुईपटक उजुरी दिए पनि प्रशासनले गम्भीर रूपमा नलिएपछि घटनाले जटिल मोड लिएको थियो। न्याय माग्दै भएको प्रदर्शनमा दमन भएपछि नेपाली विद्यार्थीलाई होस्टल खाली गर्न आदेश दिइएको थियो।
यसबारे नेपाल र भारत दुवै सरकारको ध्यानाकर्षण भएपछि पाँच जना पक्राउ परे पनि अदालतले २० हजार धरौटीमा रिहा गरिसकेको छ। ओडिसा विधानसभामा विषय उठेपछि छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ। प्रहरीले लम्सालको मृत्युबारे थप अनुसन्धान गरिरहेको छ।

