२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सिन्धुपाल्चोक भूकम्प : काठमाडौंमा जनधन क्षतिको विवरण आयो

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहानीपख भूकम्प गएपछिको जनधनको क्षतिको विवरण आउन थालेको छ । भूकम्पको समय काठमाडौंमा भागदौड हुँदा दुई जना घाइते भएको विवरण प्राप्त भएको हो ।

भागदौडमा उदयपुरको त्रियुगा नगरपालिका १० घर भइ हाल काठमाडौंको शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ घाइते भएका छन् । भागदौडका क्रममा सडक पेटीमा ठोक्किएर उनी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । घाइते थिलिङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यसैगरी अर्का घाइतेमा नवलपरासीको मध्यबिन्द् नगरपालिका–५ घर भई नयाँ बानेश्वर बस्दै आएका २६ वर्षीय हरि गैरे छन् । होस्टलमा बस्दै आएका उनी भूकम्पको धक्का आएपछि भागदौड गरेका थिए । सो क्रममा उनी घाइते भएका हुन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको एसपी बोहोराले बताए ।

शुक्रबार बिहानीपख २ः५१ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड केन्द्र भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस