२२ फागुन, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई नै निरनतरता दिने वातावरण बनाइ दिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्र लेखेको छ । मन्त्रालयले काठमाडौं महानगरलाई बुधबार पत्र लेखेर सहजीकरणका लागि आग्रह गरेको हो ।
त्यसअघि गुरागाईले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर आफूलाई महानगरमा काम गर्ने माहोल बनाइदिन आग्रह गरेका थिए । गुरागाईको पत्र पाएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले गुरागाईंलाई नै काठमाडौं महानगरमा नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
काठमाडौं टावरको नक्सा पास गर्ने निर्णय एकलौटी गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा गत पुस ८ गतेदेखि एक साताका लागि विदामा बसेका थिए । त्यसपछि पनि आफू कार्यालय जान खोज्दा मेयर शाहका सचिवालयका कर्मचारीहरूले बारम्बार अवरोध गर्दै आएको भन्दै गुरागाईंले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका थिए । काठमाडौं टावरको विवाद अहिले उत्कर्षमा छ । दुई महिनादेखि काठमाडौं महानगरले कायममुकायम प्रमुख प्रशासकीय अधिकृतका भरमा काम गरिरहेको छ ।

