काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका १५ जना प्रहरी अधिकृतहरूलाई बिहीबार दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उहाँले पदोन्नति भएका अधिकृतहरूलाई सम्मानित गर्नुभएको हो।
नेपाल सरकारको निर्णयअनुसार २०८१ फागुन २१ गते १ जना प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति, २०८१ फागुन २० गते प्राविधिक प्रहरी निरीक्षकलाई प्राविधिक प्रहरी नायव उपरीक्षकमा र १३ जना प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकलाई प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति दिइएको थियो।
पदोन्नति प्राप्त गर्नेमा प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. बिदुर प्रसाद आचार्य र १३ जना प्राविधिक प्रहरी निरीक्षकहरू रहेका छन्।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नत अधिकृतलाई बधाई दिँदै उत्कृष्ट कार्यसम्पादन गर्न र संगठनको लक्ष्यप्रति प्रतिबद्ध रहन निर्देशन दिनुभयो। अधिकृत जनक भट्टराईले जिम्मेवारीलाई दत्तचित्त र अनुशासित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू र प्रहरी जवानहरूको उपस्थिति थियो।

