काठमाडौं । गोरखा नगरपालिका–५, पस्लाङस्थित नाम्रुङदेवी थानमा भक्तजनहरू सयौँ वर्षदेखि देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाउने परम्परा कायमै छ। गाईबस्तु बिरामी परेमा वा ब्याउन गाह्रो भएमा देवीसँग भाकल गरी पूजा गरेर दाम्लो चढाउने चलन रहेको पुजारी जुनबहादुर रानामगर बताउँछन्।
गोरखा, तनहुँ, लमजुङ, चितवनलगायतका जिल्लाबाट भक्तजनहरू यहाँ आएर बाली राम्रो होस्, रोग नलागोस् र पशु उत्पादन बढोस् भन्ने कामनासहित दाम्लो चढाउँछन्।
यहाँ हरेक चण्डी पूर्णिमामा दुईवटा लोकल कुखुराको अण्डा गाडेर मौसम परीक्षण गरिन्छ। अर्को वर्ष निकाल्दा अण्डा जस्ताको तस्तै भए शुभ, बिग्रिएमा अशुभ हुने जनविश्वास छ।
नाम्रुङदेवीथानमा असार पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने गर्छ भने पुजारी मगर समुदायबाट नियुक्त गरिन्छ। देवीलाई कुखुरा, परेवा, बोका–पाठा बलि चढाउने चलन पनि छ। इतिहासकार गणेशप्रसाद भट्टराईका अनुसार यो परम्परा राजा मुकुन्दसेन द्वितीय र नरभूपाल शाहको समयदेखि चल्दै आएको हो।

