२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

ट्रकमा भेटिएको २५ करोड प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर, साहु नारायण पौडेल फरार

काठमाडौं । टोखा झोर महांकालबाट बरामद गरिएको २५ करोड रुपैयाँ बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक कुसाङ लामा ‘फुच्चे’ र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा दायर गरिएको हो। उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ भने बरामद विदेशी मुद्रा जफत गर्न प्रक्रिया अघि बढाइएको छ।

चैत ४ गते राति करीब १० बजे झोर महांकालमा ट्रक नम्बर ना७ख १६५२ बाट प्रहरीले नगद बरामद गरेको थियो। ट्रक चालक कुसाङ लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का हुन्।

अनुसन्धानमा खुलेअनुसार नगद पौडेलको हो, जो हाल फरार छन्। भोटेकोशी घर भई हाल टोखा नगरपालिका–१०, महादेवटार हाइटमा बस्दै आएका पौडेल पुराना खासा व्यापारी हुन्। तिब्बती महिलासँग विवाह गरेका उनले पछिल्ला वर्षहरूमा सुन तस्करीमा संलग्न हुँदै आएका छन्।

२०७२ मा तातोपानी नाका बन्द भएपछि तस्करीका लागि रसुवाको केरुङ रुट प्रयोग गर्न थालिएको थियो। बरामद २५ करोड बराबरको डलर–युरो केरुङ हुँदै सुन खरिद गर्न प्रयोग गर्ने योजना रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस