काठमाडौं । यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौं महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ। कामपा-३२ मा पर्ने उक्त कवाडी सङ्कलन केन्द्र हटाउनका लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि बिहीबार उक्त केन्द्रमा डोजर लगाइएको हो।
कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी सङ्कलन केन्द्र हटाएको हो। ‘आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो,’ उपरीक्षक अर्यालले बताए।
उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी सङ्कलन केन्द्रका दुई मजदुरहरूले डोजरलाई ढुङ्गामुढा गरेका थिए। ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिइएको छ। स्थानीयले बालबालिकाको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए।

