काठमाडौं । पर्सा जिल्ला प्रशासन कार्यालयले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लागू गरिएको निषेधाज्ञा हटाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्तिसुरक्षा अवस्था सामान्य भएको निष्कर्ष निकाल्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि जारी गरिएको निषेधाज्ञा आज बिहान ७ बजेबाट हटाउने निर्णय गरेको हो।
गत शनिबार हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा दुई पक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो। अहिले अवस्था सामान्य भएको निष्कर्षसहित प्रशासनले निषेधाज्ञा हटाएको हो।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार

