काठमाडौं । आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ हुँदै गर्दा सरकारी पक्षको बहस नसकिएपछि अर्को पेसी सोमबारका लागि तोकिएको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा सुनुवाइ भएको हो।
माघदेखि नियमित रूपमा चलिरहेको सुनुवाइ आज पाँचौँ दिन पुगेको हो। सरकारका तर्फबाट आज सरकारी वकिलहरूले नियुक्तिको वैधता जोगाउन बहस प्रस्तुत गरेका थिए।
२०७७ मङ्सिर ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायत ५२ जनालाई संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरिएको थियो। उक्त सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटनपछि मात्रै सार्वजनिक गरिएको थियो, जसलाई लिएर संवैधानिकता र पारदर्शिताको प्रश्न उठ्दै आएको छ।

