काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सुक्खा पहिरो खसेपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा सडकको बायाँतर्फ लगातार माटो खसिरहेकाले दुईतर्फी यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालले जानकारी दिए। उनका अनुसार पहिरो हटाउने प्रयास जारी छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराका अनुसार पहिरो खसिरहेकाले भित्तो काटेर सडक खुलाउनुपर्ने अवस्था छ। अहिले सयौँ सवारीसाधन दाउन्नेमा जाममा परेका छन्।
सडक विस्तारको क्रममा कालोपत्र सतह खनिएको र त्यसकै कारण आज सुक्खा पहिरो खसेको हो। यस क्षेत्रमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरी काम हुँदै आएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार

