२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

शिक्षक आन्दोलनमा घिउ थप्दै प्रचण्ड, ‘अब फेरि धोका होइन’ भन्दै कस्सिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षक आन्दोलनलाई धैर्यपूर्वक जारी राख्न अपिल गरेका छन्।

पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले विद्यालय शिक्षा ऐनको मागसहित भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै ‘अब फेरि धोका पाउन हुन्न’ भनेका हुन्।

‘पटक–पटक सम्झौता भयो, तर धोका पनि भयो,’ उनले भने, ‘यो पटक त्यो स्थिति दोहोरिन दिन हुन्न। हामी सबैको जिम्मेवारी हो — शिक्षकहरूलाई न्याय दिलाउने।’

उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई सरकारको गैरजिम्मेवारीपनको प्रमाणको रूपमा चित्रण गरे।

‘अब त आफ्नै पार्टीकी शिक्षामन्त्रीले समेत राजीनामा दिइन्। यसले सरकार कति कमजोर र गैरजिम्मेवार छ भन्ने देखाउँछ,’ उनले भने, ‘सरकार आफैंको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना सम्झौताअनुसार कानून निर्माण नगरेको आरोप लगाउँदै उनले आन्दोलनरत शिक्षकहरूको माग नयाँ नभएको पनि स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस