२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

१२ को परीक्षाबारे शिक्षक महासंघको आधिकारिक धारणा सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं । शिक्षकहरूको प्रतिनिधि संस्था नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षालाई लिएर आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। मंगलबार जारी विज्ञप्तिमा महासंघले परीक्षा बहिष्कार गर्ने निर्णय स्पष्ट पारेको छ।

सरकार र परीक्षा बोर्डले कर्मचारी खटाएर वैशाख ११ गतेदेखि परीक्षा गराउने निर्णय गरेपछि महासंघले प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई परीक्षामा सहभागी नहुन अपिल गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्दछौं।’

शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू काठमाडौंमा २१ दिनदेखि आन्दोलनरत छन्। सरकार बजेट अधिवेशनमार्फत ऐन ल्याउने बताइरहेको भए पनि वार्तामा प्रगति नहुँदा आन्दोलन जारी छ।

यसबीच, माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री विष्णु पौडेलको असहयोगका कारण शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस