२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

जगमानबाट किन खोसियो राजसंस्था पुनर्स्थापना समितिको संयोजक पद?

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिको संयोजकबाट जगमान गुरुङ हटाइएका छन् । अब संयोजकको जिम्मेवारी फेरि नवराज सुवेदीलाई दिइएको छ ।

समितिका प्रवक्ता स्वागत नेपालका अनुसार मंगलबारबाट सुवेदीलाई औपचारिक रूपमा पुनः संयोजक बनाइएको हो । गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि सुवेदी प्रहरी निगरानीमा परेका थिए । त्यसक्रममा जगमान गुरुङलाई कार्यवाहक संयोजक तोकिएको थियो ।

तर अब सुवेदीको निगरानी हटाइएसँगै संयोजक पद पुनः उनीकै जिम्मामा गएको छ । प्रवक्ता नेपालका अनुसार सुवेदी अब सक्रिय भूमिकामा फर्किनेछन् ।

तीनकुनेको घटनामा दुईजनाको मृत्यु र २० भन्दा बढी व्यक्ति प्रहरीको गोलीबाट घाइते भएका थिए । त्यही प्रदर्शनपछि सार्वजनिक र निजी सम्पत्ति तोडफोड, आगजनी भएका थिए । त्यसपछि प्रहरीले राप्रपा नेता रविन्द्र मिश्र, दुर्गा प्रसाईलगायतलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । सुवेदी भने त्यतिबेलादेखि घरमै प्रहरी निगरानीमा थिए ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस