काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेटघाट गरेको विषयमा प्रकाशित समाचारका कारण ‘नेपाली पेन’ अनलाइनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ।
सर्वोच्च अदालतमा कार्यरत नायब सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले मंगलबार ‘नेपाली पेन’लाई विपक्षी बनाउँदै अदालतको अवहेलना मुद्दा दायर गरेका हुन्।
मुद्दा २०७८ सालको “अदालतको अवहेलना” शिर्षकमा दर्ता गरिएको छ, जसको मुद्दा नम्बर ०८१-एपी-०५८१ हो। मुद्दाको सुनुवाइ बुधबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पहिलो नम्बरमा पेसी चढेको छ।
‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा सोमबार ‘नेपाली पेन’ अनलाइनमा समाचार प्रकाशित भएको थियो। सो समाचार हाल वेबसाइटबाट हटाइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार

