काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ। एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले खर्च कटौती नीति अन्तर्गत एमसीसी बन्द गर्ने तयारी गरेको अमेरिकी मिडियाहरूले जनाएका छन्।
सीएनएन र पोलिटिकोका अनुसार डजले सबै कर्मचारीलाई पठाएको इमेलमा ९० दिनभित्र एमसीसीका सबै कार्यक्रमहरू बन्द गरिने उल्लेख छ। योग्य कर्मचारीलाई स्वैच्छिक अवकाश र स्थगित राजीनामाको विकल्प दिइएको छ।
नेपालमा एमसीसीमार्फत ५५ करोड डलरको अनुदानमा लमही–बुटवल सडक स्तरोन्नति र ४०० केभी प्रसारण लाइन निर्माणको काम भइरहेको छ। परियोजना बन्द भएमा निर्माण ढिलो हुने, आर्थिक प्रवाह रोकिने वा अधुरो रहने जोखिम बढ्ने देखिन्छ।
२०७८ फागुन १५ मा संसदबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको एमसीसी सम्झौताअनुसार नेपालमा लप्सीफेदी–बुटवल प्रसारण लाइन, तीनवटा सबस्टेशन र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ४० किमी सडक स्तरोन्नतिको काम भइरहेको छ। तर डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार ती कामहरू हाल ९० दिनका लागि रोकिएका छन्।
एमसीसी बन्द हुने संकेतसँगै नेपालमा यसको कार्यान्वयनमा अन्योलता बढेको छ।

