काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै उनले शिक्षकहरूको समस्याबारे वार्ताबाट समाधान खोज्ने बताएका छन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पन्तले शिक्षकहरूका मागबारे आफू जानकार रहेको बताए। साथै, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेपछि कसरी अघि बढ्ने भन्ने विषयमा धारणा बनाउने स्पष्ट पारे।
‘भर्खर त मन्त्रालयको जिम्मेवारी सम्हालेको छु। शिक्षकहरूका मागका विषयमा जानकार छु। मन्त्रालयका अधिकारीहरूले वार्ताको लागि पहल गरिरहेका छन्। यो विषयमा बुझेपछि आफ्नो धारणा बनाउँला,’ मन्त्री पन्तले भने।
गत चैत २० गतेदेखि शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। नवनियुक्त मन्त्रीको प्राथमिकतामा यो आन्दोलन कसरी सम्बोधन हुन्छ भन्ने विषयमा चासो बढेको छ।

