२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

ओली सरकारको जग हल्लाउने प्रचण्ड-देउवाबीच संवाद : थाइल्यान्ड जानुअघि के कुरा भयो?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेको खुलेको छ। वैशाख ७ गते उपचारका लागि देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए।

सत्ता परिवर्तनसँग जोडेर देउवाको भ्रमणमा टिकाटिप्पणी भइरहेका बेला उनले प्रचण्डलाई फोन गरेको खुलेको हो। सिंहदबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले देउवाले आफूलाई फोन गरेको ब्रिफिङ गरेका छन्।

प्रचण्डले बैठकमा भने, ‘थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो। सो क्रममा शुभकामना आदानप्रदान भएको थियो। फर्किएपछि फेरि भेट्न कुरा भएको छ।’

माओवादी केन्द्रका एक सांसदले भने, देउवाले फोन गरेको र प्रचण्डले बैठकमा वर्तमान सत्ता समीकरणबारे ब्रिफिङ गरेको बताएका छन्।

प्रचण्डले अब केपी ओली नेतृत्वको सरकार धेरै समय नटिक्ने विश्लेषण गरेका थिए। सांसदका अनुसार नयाँ समीकरणका विषयमा देउवा थाइल्यान्डबाट फर्किएपछि छलफल गर्ने प्रचण्डले बताएका थिए। ‘अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने संकेत प्रचण्डले गरेका छन्,’ ती सांसदले भने।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस