काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्। उनलाई अपराध अनुसन्धान कार्यालयले शनिबार साँझ काठमाडौंको कपनस्थित घरबाट पक्राउ गरेको हो।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको २ अर्ब ६५ करोड रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि नै पक्राउ पुर्जी जारी भए पनि गिरफ्तारी नभएको भन्दै आलोचना बढेपछि प्रहरीले पक्राउ गरेको हो।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्। उनी आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्म सञ्चालक समितिमा थिइन्।
राईसहित पाँच जनालाई उन्मुक्ति दिइएको भन्दै चर्को आलोचना भइरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो। ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।
राई नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा समानुपातिक सांसद हुन्। उनी सभापति शेरबहादुर देउवा समूहमा रहेकी छन्। भोलि (आइतबार) उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

