२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

शिक्षक आन्दोलन : रिपोर्टिङ गर्दा सविनाको आँखामा गहिरो चोट, बोकेरै तिलगंगा पुर्‍याइयो

काठमाडौँ । आइतबार नयाँ बानेश्वरमा शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की गम्भीर घाइते भएकी छिन्। निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा उनी सडकछेउ उभिएर रिपोर्टिङ गर्दै गर्दा पानीको फोहोरा लागेर घाइते भएकी हुन्।

कार्कीको दुवै आँखामा चोट लागेको छ। सुरुमा सिभिल अस्पतालमा प्राथमिक उपचार गरिएको थियो भने पछि ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका प्रधान सम्पादक मुकुन्द दाहालले जानकारी दिए।

झडपका बेला सुरक्षाकर्मीले कार्कीलाई बोकेर अस्पताल पुर्याएका थिए, जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ।
प्रसारण निर्देशक राजु भण्डारीले कार्कीको आँखाको परेलामुनि गहिरो चोट लागेको र तिलगंगामा विशेष उपचार भइरहेको बताए।

शिक्षक आन्दोलनको २६ औं दिनमा निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरी र शिक्षकबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गरेको आरोप शिक्षक महासंघले लगाएको छ भने प्रशासनले निषेधित क्षेत्र तोड्न खोजेपछि कारबाही गरिएको बताएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस